दूधखोला जलविद्युत् आयोजनामा दुई बैंकले १० अर्ब लगानी गर्ने

काठमाडौँ । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजनाका प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।

सम्झौताअनुसार आयोजनामा नेतृत्वदायी बैंक (लिड बैंक) का रूपमा एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंकका रूपमा सानिमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुई बैंकबाट आयोजनामा कुल १० अर्ब एक करोड रुपैयाँ लगानी हुने भएको छ ।

मनाङमा निर्माण हुने आयोजनाको अनुमानित कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम पर्ने भएकाले आयोजनालाई तुलनात्मक रूपमा आकर्षक मानिएको कम्पनीले जनाएको छ । बैंकबाट प्राप्त हुने ऋणबाहेक आवश्यक रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ । वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणको काम तत्काल अघि बढाउने कम्पनीको तयारी छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट ६५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसले मुलुकको विद्युत् उत्पादन क्षमता विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । मनाङमा जलविद्युत् विकासका लागि थप लगानीको वातावरण बनाउन पनि आयोजनाले भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

माउन्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना र पाँच मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजनाले हाल नियमित रूपमा विद्युत् उत्पादन गरिरहेका छन् । कम्पनीले ती आयोजनाबाट प्राप्त अनुभव र स्रोतलाई उपयोग गर्दै दूधखोला आयोजना निर्माणलाई अघि बढाउने जनाएको छ ।