प्रकृति, संस्कृति र इतिहासले भरिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिक स्थल र मौलिक संस्कृति—यी विविधताले मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको गन्तव्यका रूपमा चिनाउन थालेको छ ।

गाउँपालिकाका विभिन्न वडामा रहेका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका आकर्षणका केन्द्र बन्न थालेका छन्। प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति र ऐतिहासिक पहिचानलाई पर्यटनसँग जोड्न सके गाउँपालिकामा पर्यटनको दायरा अझ फराकिलो बनाउन सकिने देखिएको छ ।

मर्स्याङ्दी गाउँपालिका–४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन पर्यटक तथा स्थानीय पुग्ने गरेका छन् । वडा नं. ६ बाहुनडाँडाको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको अर्को स्थल हो । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वाससमेत रहँदै आएको छ ।

गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खलासहित आसपासका मनोरम भू–दृश्य अवलोकन गर्न सकिन्छ । वडा नं. ३ मा रहेको हर्सिङडाँडा भने प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक महत्त्वका कारण थप आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ ।

हर्सिङडाँडा राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत परिचित छ। ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यस स्थलको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयवासी बताउँछन्।

मर्स्याङ्दीको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँका विभिन्न समुदायको मौलिक संस्कृति पनि पर्यटनको महत्वपूर्ण आधार हो । घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायत परम्परागत नाचगान तथा सांस्कृतिक गतिविधिले स्थानीय पहिचानलाई जीवन्त राखेका छन् ।

यी कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्न सके एकातिर सांस्कृतिक सम्पदाको संरक्षण हुने र अर्कोतर्फ स्थानीय समुदायका लागि आम्दानीको स्रोत सिर्जना हुने सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा प्रमुख पर्यटकीय तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने पर्यटकलाई स्थानीय गन्तव्यमा आकर्षित गर्न सकिने अवस्था रहेको छ । विशेषगरी अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा बेँसीसहर–चामे सडक हुँदै मनाङ जाने यात्रुलाई मर्स्याङ्दीका स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्‍याउन सकिने स्थानीयको भनाइ छ ।

स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँछन् । पर्यटकीय सम्भावना भएका स्थलको पहिचान, संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकासमा ध्यान दिन सके स्थानीयले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ ।

हर्सिङडाँडाको सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । भक्ति थापासँग जोडिएको ऐतिहासिक पहिचानलाई पर्यटकीय गतिविधिसँग जोडेर आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको गुरुङले बताए । उनका अनुसार प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि आधारसमेत तयार हुँदै गएको छ। तर पर्यटकीय स्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासजस्ता पूर्वाधारलाई व्यवस्थित बनाउन अझै आवश्यक देखिन्छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण क्षेत्र रहेको बताउँछन्। यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उनले बताए । पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीय स्थलसम्म यातायात पहुँच विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको अध्यक्ष गुरुङको भनाइ छ । उनका अनुसार स्थानीय सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरेर पर्यटकका लागि सहज वातावरण तयार गर्ने प्रयास भइरहेको छ ।

अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।