काठमाडौं । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । मुख्यमन्त्री थापाकाअनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याईएइको छ ।
यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिए । विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले जानकारी दिए ।
उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनको भनाइ छ । मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम शुरु गरिसकेको पनि जानकारी दिए । उनले भने, ‘मृतकको आफन्त हुनुहुन्छ, उहाँहरूको लाउने लुगाबाहेक केही पनि छैन, मृतकका सद्गत गर्न समेत सकिरहेको अवस्था छैन ।
तत्कालै हामीले प्रतिमृतक बराबर २५ हजार रुपैयाँ सद्गत गर्नलाई दिने भनेर निर्णय गरेका छोँ, जहाँजहाँ रासनको समस्या छ, जहाँजहाँ सेल्टरहरू बसेका छन्, त्यो सेल्टरहरूमा खाने र अस्थायी बसोवासको लागि जति लाग्ने खर्च प्रदेश सरकारबाट बेहोर्ने भनेर हामीले शुरुवात गरेका छौँ । हामीले स्थानीय तहसँग समन्वय गरेर, स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गरेर, सहकार्य गरेर कामलाई अगाडि बढाएका छौँ ।’
प्रदेश सरकारले राहत तथा पुनःस्थापनाका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए । संघीय सरकारले राहत संकलन गरेको छ, वितरण गर्न सकेको छैन मुख्यमन्त्री थापा मगरले संघीय सरकारले रसुवा वाढी पीडितको लागि राहत सामग्री संकलन गरेपनि प्रभावित क्षेत्रमा पुर्याउन नसकेको आरोप लगाए । संघीय सरकारले राहत नेपाली सेनाको नुवाकोटको बट्टारस्थित ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा संकलन गरेर राखेको उनले बताए । संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई बेवस्ता गर्दा प्रभावकारी ढंगले राहत वितरण तथा उद्धारको काम हुन नसकेको उल्लेख गरे ।
उनले प्रधानमन्त्री कार्यालयमा आइतबार भएको छलफलपछि राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी वाग्मति सरकारलाई दिएको जानकारी दिए। उनले अब प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट मलाई साढे ११ बजे बोलाएको थियो । त्यहाँको विपद् व्यवस्थापनको टिमसँग म बसेँ । उहाँहरूले राहत संकलन गर्नुभएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन। मैले त्यहाँ त्यहीबाट गोसाइँकुण्ड गाउँपालिका अध्यक्षज्यूलाई फोन लगाए र उहाँलाई ह्यान्ड्सफ्री सुनाएँ ।
जति पनि राहत सामग्रीहरू नुवाकोटको बट्टारमा गएर बसेको छ । अनि रसुवाको धुन्चेको ब्यारेकमा गएर बसेको छ। त्यो सामग्रीलाई डिस्ट्रिब्युसन गर्नुपर्यो, मुख्यमन्त्रीज्यू अब हामीबाट नहुने भो । यो चाहिँ तपाईँले स्थानीय पालिकाबाट समन्वय गर्दिनु पर्यो, पालिकाका अध्यक्षज्यूहरूलाई जोड दिएर त्यसको जिम्मा अब तपाईँले लिदिनुपर्यो भनेर आज अहिले मलाई जिम्मा लगाउने काम भएको छ ।’
मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीवाट करिव ५ हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरे । उनकाअनुसार गोसाइँकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिकामा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा मात्रै करिव २ हजारभन्दा बढी मानिस बेपत्ता भएको उनले बताए । बाढीमा संविधानसभा सदस्य कर्ण लामाको परिवारका सदस्यहरू पनि बेपत्ता भएको उनले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिकाकी पूर्वउपाध्यक्ष प्रतिभा लामा, वडा नम्बर २ का अध्यक्ष कामी छिरिङ तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मा तामाङसमेत बेपत्ता रहेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































