रसुवागढीपछि तातोपानी नाका पनि बन्द, नेपाल–चीन व्यापार प्रभावित

काठमाडौं । बाढीले नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढी पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा चीनले सिन्धुपाल्चोकको तातोपानी नाका समेत अस्थायी रूपमा बन्द गरेको छ ।

चीनले भदौ १४ गतेदेखि तातोपानी नाकाबाट कार्गोका गाडी आउन रोकेको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्र प्रकाश गिरीका अनुसार चीनले नाका अस्थायी रूपमा बन्द गरिएको जानकारी नेपाललाई दिएको छ । यद्यपि, नाका बन्द गर्नुको कारण भने औपचारिक रूपमा खुलाइएको छैन । पर्यटक सवारीसाधनको आवागमन भने रोकिएको छैन ।

‘चीनले अस्थायी रूपमा भन्सार बन्द गरेको जानकारी दिएको छ । बन्द गर्नुको कारण खुलाइएको छैन । पर्यटक सवारी साधन रोकिएको छैन । कार्गोका गाडी आउन दिइएको छैन,’ गिरीले भने । भन्सार विभागका एक अधिकारीका अनुसार चीनले आफ्नो भन्सार कार्यालय मर्मतसम्भार तथा स्थानान्तरणको तयारीका लागि नाका बन्द गरेको हो । चीनले मितेरी पुलनजिक रहेको भन्सार कार्यालयलाई माथिल्लो क्षेत्रमा सार्ने योजना बनाएको र त्यसकै तयारीस्वरूप भन्सार सेवा अस्थायी रूपमा रोकिएको ती अधिकारीले बताए ।

तातोपानी भन्सारबाट अन्तिमपटक भदौ १२ गते चीनबाट आठ वटा कन्टेनर नेपाल आएका थिए । त्यसपछि चीनतर्फबाट थप मालवाहक कन्टेनर नेपाल आएका छैनन् । एकातिर रसुवागढी नाका बाढीले बगाएको र अर्कोतर्फ तातोपानीबाट समेत कार्गो आवागमन रोकिएपछि नेपाल–चीन व्यापारमा प्रत्यक्ष असर परेको छ । यता, मुस्ताङको कोरला नाका भने सञ्चालनमा रहे पनि त्यहाँबाट नियमित रूपमा मालवाहक सवारीसाधनको जाँचपास हुन सकेको छैन । कोरला भन्सार कार्यालयका प्रमुख विदुर चुडालले नाका सञ्चालनमा रहेकाले चीनबाट सामान बोकेका गाडी आए उपलब्ध संरचना र जनशक्तिबाट काम गर्न सकिने बताए ।

‘नाका चलिरहेको छ । चीनबाट नेपाल ल्याइने गाडी आए उपलब्ध संरचना र जनशक्तिबाट काम गर्न सकिन्छ,’ चुडालले भने । रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि चीनको केरुङमा नेपालतर्फ आउनुपर्ने १७६ वटा मालवाहक गाडी रोकिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार तीमध्ये करिब २० देखि २५ वटा गाडी सामान लोड भइसकेको अवस्थामा छन् । ती कन्टेनरमा फलफूल, लत्ताकपडा, जुत्ता–चप्पल, कस्मेटिकलगायत दसैं–तिहार तथा जाडोयामका लागि लक्षित सामान छन् ।

केरुङमा रोकिएका सामान नेपाल ल्याउन वैकल्पिक नाका प्रयोग गर्ने विषयमा समेत छलफल भइरहेको छ । संघले सोमबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गरी फलफूललगायत छिट्टै बिग्रने सामान तातोपानी नाकाबाट नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको कार्कीले जानकारी दिए । यसअघि भन्सार विभागले भदौ १३ गते सूचना जारी गर्दै व्यवसायीलाई कोरला नाका प्रयोग गर्न अनुरोध गरिसकेको छ । तर, केरुङमा रहेका सामान अर्को नाकाबाट नेपाल ल्याउन चीनको स्वीकृति आवश्यक पर्ने भएकाले त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गर्नुपर्ने अवस्था छ ।

कार्कीका अनुसार हाल केरुङमा करिब ७० देखि ७१ जना नेपाली सवारी चालक रहेका छन् । सबै सामान एकैपटक ल्याउन सम्भव नभएकाले कुन नाका प्रयोग गर्ने भन्ने टुंगो लागेपछि थप चालक पठाएर सामान ल्याउने योजना व्यवसायीको छ । ‘सामान ल्याउने नाका निश्चित भए हामी यहाँबाट थप ड्राइभर लगेर नाकाबाट सामान ल्याउँछौँ । उताका ड्राइभर केरुङ नै फर्केर फेरि ल्याउनुहुन्छ । तर, सामान ल्याउनका लागि स्वीकृति आवश्यक हुन्छ,’ कार्कीले भने ।

तातोपानीतर्फ भने अरनिको राजमार्गमा हाल सवारीसाधन सञ्चालनमा कुनै समस्या नरहेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ । कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार कोदारी क्षेत्रमा गएको पहिरो भदौ ८ गते हटाएर यातायात सञ्चालन गरिएको थियो । त्यसपछि पनि पटक–पटक पहिरो गए पनि हटाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए । हाल आकस्मिक रूपमा पहिरो आए तत्काल हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको र अरनिको राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको भण्डारीले जानकारी दिए ।

यस्तै, कोरला नाका जोड्ने कालीगण्डकी करिडोरमा पनि सवारीसाधन सञ्चालनमा समस्या नरहेको करिडोरका प्रमुख तेजस शर्माले बताए । उनका अनुसार सडकमा गाडी र कन्टेनर चल्न सक्ने भए पनि दुई स्थानमा रहेका बेलिब्रिजका कारण १८ देखि २० टनभन्दा बढी भार भएका कन्टेनर सञ्चालनमा जोखिम छ ।

गत वर्षको बाढीले कागबेनी र रुप्सेको पुल बगाएपछि ती स्थानमा बेलिब्रिज निर्माण गरिएको हो । त्यसैले कोरला नाका वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भए पनि बढी भार बोकेका कन्टेनर सञ्चालनमा भने थप सावधानी आवश्यक देखिएको छ । रसुवागढी नाका बाढीले पूर्ण रूपमा क्षतिग्रस्त हुनु र तातोपानी नाका पनि अस्थायी रूपमा बन्द हुनुका कारण चीनबाट नेपालतर्फ हुने आयातका लागि अहिले कोरला नाका प्रमुख वैकल्पिक विकल्पका रूपमा देखिएको छ । तर, केरुङमा रोकिएका ठूलो संख्याका मालवाहक गाडी र छिट्टै बिग्रने सामानका कारण व्यवसायीले तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरिरहेका छन् ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।