काठमाडौं । नेपाल भौगर्भिक समाजमा आबद्ध विज्ञ टोलीले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी करिडोरको प्ररम्भिक अध्ययन गरेको छ ।
भौगर्भिक समाजको टोलीले देवीघाटदेखि कृष्णभीरसम्मको क्षेत्रमा स्थलगत अध्ययनको प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको जनाएको छ । अध्ययनले बाढीका कारण नदीको बहाव क्षेत्रमा ठूलो परिवर्तन आएको र नयाँ गेग्य्रान जम्मा भएको देखाएको छ । धेरै ठाउँको पुरानो भौगर्भिक स्वरूप पहिचान नै गर्न नसकिने गरी बदलिएको पाइएको भौगर्भिक समाजले जनाएको छ ।
भौगर्भिक समाजका अनुसार, देवीघाटका केही भागमा १० मिटरभन्दा बढी बाक्लो गेग्य्रान र बालुवा–माटो जम्मा भएको अध्ययनको निष्कर्ष छ । महादेवफाँटमाथिको ठूलो क्षेत्रफलको कृषियोग्य जमिन लेदोलगायतले पुरिएको छ । नदीको परिमार्जित बहाव र लेदोका कारण तल्लो तटीय क्षेत्रका कृषि भूमि र राजमार्गसहित मुख्य यातायात मार्गहरूमा जोखिम सिर्जना भएको अध्ययनले देखाएको छ । नदीले किनार कटान गर्ने र कटान तीव्र हुने सम्भावना पनि औँल्याइएको छ भने थप पहिरो जान सक्ने खतरा रहेको बताएको छ ।
नदी करिडोरको परिवर्तनशील अवस्थालाई ध्यानमा राख्दै तत्कालको जोखिम व्यवस्थापनका लागि निरन्तर अनुगमन र विस्तृत प्राविधिक मूल्यांकन आवश्यक रहेकोमा भौगर्भिक समाजले जोड दिएको छ । भौगर्भिक समाजको टोलीले मंगलबार नुवाकोट र रसुवातर्फ स्थलगत अध्ययन गर्ने, अध्ययन पूरा भएपछि विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई मार्गदर्शन गर्न विस्तृत प्राविधिक प्रतिवेदन बुझाइने बताएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































