शेयर बजारमा भोटेकोशी बाढीको तरङ्ग

देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजारले सानाभन्दा साना राष्ट्रिय घटनाक्रम र विपत्तिलाई पनि तत्काल प्रतिबिम्बित गर्दछ । भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले जनधनको क्षति मात्र गरेन, त्यसको प्रत्यक्ष प्रभाव मुलुकको पुँजी बजार नेप्सेमा स्पष्ट रूपमा देखिएको छ ।

बाढीका कारण जलविद्युत् आयोजना, सडक तथा भौतिक पूर्वाधारमा पुगेको व्यापक क्षति र त्यसबाट सिर्जित आर्थिक जोखिमले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ, जसको परिणामस्वरूप हप्ताको पहिलो कारोबार दिनमै नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा सीमित हुन पुगेको छ ।

नेपालको पुँजी बजारमा पछिल्लो समय जलविद्युत् क्षेत्र (हाइड्रोपावर सेक्टर) को वर्चस्व र आकर्षण ह्वात्तै बढेको थियो । ठूलो संख्यामा सर्वसाधारण लगानीकर्ताको उपस्थिति रहेको जलविद्युत् क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिले गम्भीर धक्का दिएको छ । रसुवा र आसपासका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन १ दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन अवरुद्ध हुनुका साथै भौतिक संरचनाको पुनर्निर्माणमा ठूलो धनराशी खर्च हुने निश्चित छ । उत्पादन रोकिँदा कम्पनीहरूको आम्दानी घट्ने र लाभांश क्षमतामा सिधा ह्रास आउने चिन्ताले लगानीकर्तामा त्रास फैलाएको छ । त्यसैले मैलुङ खोला जलविद्युत् (१४.९८%), रसुवागढी (११.७६%), चिलिमे (१०.४९%) र माण्डु हाइड्रोपावर जस्ता कम्पनीहरूको शेयर मूल्यमा उच्च गिरावट आएको छ । जलविद्युत् समूहको परिसूचक नै २.९४ प्रतिशतले घट्नुले लगानीकर्ताहरू तत्कालका लागि पछाडि हट्न वा हडबडाएर शेयर बिक्री गर्न थालेको संकेत गर्छ ।

विपत्तिको समयमा सबैभन्दा बढी जोखिम बहन गर्नुपर्ने निर्जीवन बीमा र पुनर्बीमा क्षेत्रमा परेको प्रभाव झनै चिन्ताजनक छ । बाढीका कारण सवारीसाधन, निजी तथा सरकारी घरजग्गा र ठूला जलविद्युत् आयोजनाहरूमा भएको भौतिक क्षतिको ठूलो बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व बीमा कम्पनीहरूमाथि आइपरेको छ । कम्पनीहरूको नाफामा ठूलो संकुचन ल्याउने अनुमानका आधारमा लगानीकर्ताहरूले निर्जीवन बीमा समूहका शेयर धमाधम बेच्न थालेका छन्, जसका कारण सोमबार बीमा समूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशतले घट्न पुग्यो । नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स लगायतका कम्पनीहरू समेटिएको ‘अन्य’ समूहमा पनि ३.३० प्रतिशतको गिरावट देखिनुले वित्तीय जोखिमको दायरा फराकिलो बनेको पुष्टि गर्छ ।

पुँजी बजारको एउटा चाखलाग्दो र सकारात्मक पाटो के हो भने विपत्तिले एकातिर विनाश ल्याउँछ भने अर्कोतिर पुनर्निर्माणको अवसर र माग पनि सिर्जना गर्छ । समग्र बजार राताम्मे भई १३ मध्ये १२ वटा समूहगत परिसूचक ओरालो लाग्दा पनि उत्पादन तथा प्रशोधन समूह ०.७० प्रतिशतले बढेको छ । बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट, प्यानल तथा अन्य निर्माण सामाग्रीको माग बढ्ने पूर्वअनुमानका आधारमा लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका छन् ।

घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र एसवाई प्यानल जस्ता कम्पनीहरूको शेयर मूल्य बढ्नुका साथै शिवम् सिमेन्ट र सर्वोत्तम पेन्टस्मा उच्च कारोबार हुनुले लगानीकर्ताहरूले जोखिमबिच पनि चलाखीपूर्ण रूपमा नयाँ सम्भावना खोजिरहेको देखिन्छ । प्राकृतिक विपत्तिपछि शेयर बजारमा देखिने यस्तो उतारचढाव र भय स्वाभाविक भए तापनि लगानीकर्ताहरूले संयमता र विवेक गुमाउनु हुँदैन । शेयर बजारमा तत्कालीन घटनाक्रमले अल्पकालीन दबाब सिर्जना गरे पनि कम्पनीहरूको दीर्घकालीन क्षमता, प्रवद्र्धकहरूको साख र बीमा सुरक्षाको दायरालाई विश्लेषण गर्नु आवश्यक हुन्छ ।

जलविद्युत् आयोजनाहरू प्रायः बीमाकृत हुने भएकाले भौतिक क्षतिको अधिकांश भार बीमा कम्पनीले बहन गर्छन् भने पुनर्निर्माणपश्चात् कम्पनीहरू पुनः पूर्ववत् अवस्थामा फर्किन्छन् । तसर्थ त्रसित भएर घाटामा शेयर बेच्नुभन्दा वस्तुनिष्ठ विश्लेषण गर्नु नै समझदारी हुन्छ ।

भोटेकोशीको बाढीले नेपाली पुँजी बजारलाई प्राकृतिक जोखिम व्यवस्थापन र जलविद्युत् तथा पूर्वाधार क्षेत्रको वित्तीय सुरक्षाबारे पुनः सोच्न बाध्य बनाएको छ । राज्य र नियामक निकाय धितोपत्र बोर्ड तथा नेप्सेले प्रभावित कम्पनीहरूको वास्तविक क्षति र पुनर्निर्माण योजनाका बारेमा पारदर्शी सूचना सर्वसाधारणसमक्ष चाँडो ल्याउनुपर्छ, ताकि बजारमा भ्रम र अफवाह फैलिन नपाओस् । लगानीकर्ताहरूले पनि विपत्तिको समयमा केवल भावनात्मक भएर होइन, कम्पनीको क्षतिपूर्ति बहन गर्ने क्षमता र पुनर्निर्माणपश्चात्‌को प्रतिफललाई मध्यनजर गर्दै सुरक्षित र दीर्घकालीन लगानी रणनीति अपनाउनु नै आजको आवश्यकता देखिन्छ ।

२०८३ भदौ १७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।