धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिका सभापति रहेका नेकपा एमालेका सांसद धर्मराज पाठकलाई जिम्मेवारीबाट हटाइएको छ ।
प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेपछि एमाले संसदीय दलको सिफारिसमा उनलाई समिति सभापतिको जिम्मेवारीबाट मुक्त गरिएको हो । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले पाठकलाई सभापति पदबाट हटाइएको जानकारी दिएका छन् । उनका अनुसार एमाले संसदीय दलले पाठकलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्दै प्रदेशसभालाई जानकारी गराएको हो ।
सभामुख भण्डारीले संसदीय दलको निर्णयअनुसार नै पाठक पदमुक्त भएको स्पष्ट पारे । “दलको निर्णयको पत्र आएको छ । हामीले हटाउने होइन । संसदीय दलको निर्णयले नै हटाउने हो । हामीलाई जानकारी मात्र गराउने हो । जानकारीको पत्र आएको छ,” उनले भने । एमालेले बजेट पारित गर्ने बैठक बहिष्कार गरेका पाठकसहित प्रदेशसभा सदस्य वीरबहादुर थापालाई ४८ घण्टे स्पष्टीकरण सोधेको थियो । पार्टीले आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न, बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न ह्वीप जारी गरेको थियो । तर, पाठक र थापा पार्टीको निर्देशनविपरीत बैठकमा अनुपस्थित भएका थिए । आइतबार प्रदेशसभामा प्रस्तुत भएको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो ।
बजेट पारित गर्ने विषयमा पार्टीले स्पष्ट निर्देशन दिँदादिँदै पनि उनीहरू बैठकमा सहभागी नभएपछि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो । बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने एमाले संसदीय दलको बैठकमा समेत पाठक अनुपस्थित रहेका थिए । मंगलबार प्रदेशसभामा विवादका बीच बजेट पारित भएको थियो । बजेट पारित भएपछि असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य थापाले बैठक बहिष्कार गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट राजीनामासमेत दिएका छन् ।
एमालेले थापालाई पठाएको स्पष्टीकरण पत्रमार्फत राजीनामा फिर्ता लिन आह्वान गरेको छ । पार्टीले उनको अनुपस्थितिलाई ह्वीप उल्लङ्घनका रूपमा लिँदै स्पष्टीकरण मागेको हो । थापाको राजीनामाबारे भने प्रदेशसभाले औपचारिक निर्णय गरिसकेको छैन ।सभामुख भण्डारीका अनुसार थापाको राजीनामा प्राप्त भए पनि त्यसलाई स्वीकृत गरिएको छैन । राजीनामाबारे अध्ययन भइरहेको बताउँदै उनले भने, “राजीनामा आएको छ । तर, मैले स्वीकृत गरेको छैन । अहिले अध्ययनको क्रममा छु ।” बजेट पारित गर्ने प्रक्रियालाई लिएर एमालेभित्रै देखिएको असन्तुष्टि र पार्टीको ह्वीप उल्लङ्घनपछि प्रदेशसभामा राजनीतिक विवाद थप चर्किएको छ । पाठक समिति सभापतिको जिम्मेवारीबाट हटेका छन् भने थापाको राजीनामा र पार्टीले मागेको स्पष्टीकरणसम्बन्धी विषय अझै टुंगिन बाँकी छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































