घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

काठमाडौं । नेपालीको महान् चाड बडादशैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । दशैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो ।

उपत्यका छाड्ने यात्रुमध्य १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष छन् । दशैँ मनाउन घर फर्किनेक्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढिरहेको उनले जानकारी दिए । उपत्यका छाड्ने यात्रुको सङख्या बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको पनि आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिनेक्रम जारी छ । ती नाकामा दशैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन प्रहरीसहित यातायात व्यवसायीले प्रभावकारी जाँचको व्यवस्था गरेको जनाएका छन् । दशैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । “यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने । चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङुगा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।