काठमाडौं । मुस्ताङस्थित नेपाल–चीन जोड्ने कोरला नाकाको सडक एक साताअघि खुलाइयो । कच्ची र खाल्टाखुल्टी सडकका कारण विद्युतीय सवारीसाधन (ईभी)को ढुवानी पूर्ण रूपमा ठप्प भएको छ ।
जोमसोमदेखि कोरलासम्मको करिब १०० किलोमिटर सडकखण्डमा साना र होचा ईभी गाडीको तल्लो भाग ठोक्किएर क्षति पुग्ने जोखिम छ । यसले गर्दा भन्सार जाँचपास भइसकेका करिब ७०० वटा ईभी गन्तव्यमा पुर्याउन सम्भव भएको छैन । नाका खुलेपछि ठूला ट्रक तथा मालवाहक कन्टेनरहरू सजिलै सञ्चालन हुन सके पनि हालै खनिएको ग्राभेल सडकका ठूला खाल्टाख्लटीका कारण ईभी गाडीहरू ल्याउन नसकिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।
उनका अनुसार, नाका प्रवेश गरी भन्सार पास हुन बाँकी रहेका करिब दुई हजारभन्दा बढी ईभी गाडीहरू भन्सारपारि (चीनतर्फ) नै रोकिएका छन् । “जोमसोम–कोरला सडकखण्डमा कालोपत्र नै नगरे पनि सामान्य रूपमा ठूला खाल्टाखुल्टी पुरेर राम्रोसँग ग्राभेल गरिदिए ईभी गाडीहरू सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन सकिन्छ,” भन्सार प्रमुख चुडालले भने, “अहिले उक्त अवरुद्ध सडकखण्ड ठूला सवारी जान सक्ने खालको भए पनि ईभी नै गुड्न सक्ने स्थिति छैन ।” नेपालतर्फको भन्सार परिसरमा आइपुगेका करिब दुई हजारभन्दा बढी ईभीहरूको आयातकर्ता व्यवसायीहरूले हालसम्म भन्सार जाँचपास गराएका छैनन् । बाटो नबनेसम्म गाडीहरू गन्तव्यतर्फ लैजान नसकिने भएकाले व्यवसायीहरूले भन्सारको १५ दिने निःशुल्क भण्डारण सुविधा प्रयोग गर्दै तत्काल राजस्व भुक्तानी नगरेको हुनसक्ने अनुमान छ । ती ईभी गाडीहरू अब दसैँपछि मात्र भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइने सम्भावना रहेको चुडालले जनाए ।
गत असोज ११ गतेको हिमपात र त्यसपछिको बाढीपहिरोले सडक बिगारेपछि दसैँ तथा जाडो लक्षित लत्ताकपडा, खाद्यान्न र फलफूल बोकेका गाडीहरू गन्तव्यसम्म पुग्न सकेका थिएनन् । सडक विभागले म्याग्दीको कुइनेटा–पोखरेबगर खण्डको १० किलोमिटर अवरुद्ध सडक मर्मतसम्भार तथा पुनर्निर्माण गरेपछि असोज २३ गते बिहीबार साँझदेखि यातायात सञ्चालनमा आएको हो । सडक खुलेपछि भन्सार जाँचपास भइसकेका ७०० देखि ८०० वटा मालवाहक कन्टेनरहरू भने आफ्ना गन्तव्यतर्फ लागिसकेका छन् । दसैँको फूलपातीदेखि भन्सारको नियमित जाँचपास कार्य बन्द हुने भएकाले शुक्रबारसम्म मात्र नियमित जाँचपासको काम हुने कार्यालयले जनाएको छ ।
गत असोज ८ गतेदेखिको अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर (मालढुंगा–बेनी–जोमसोम–कोरला) सडक योजनाको विभिन्न खण्डमा पहिरो, सडक कटान एवं पुलको एप्रोच रोड बगाउँदा यातायात अवरुद्ध भएको थियो । उक्त सडक खण्डमा पर्ने लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर र दाना लगायतका स्थानमा माथिबाट लेदोसहितको पहिरो खसेको थियो । साथै, पोखरेबगर पुलको बायाँतर्फको एप्रोच रोड बगाएको र तातोपानी कुण्ड, नारच्याङ एवं खामभित्ता भन्ने स्थानमा नदीको उच्च बहावका कारण बाटो कटान हुँदा सडक ठप्प भएको थियो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































