मस्को । रूसले क्यान्सरविरूद्धको खोप सन् २०२५ मा संसारभर उपलब्ध गराउने भएको छ ।
रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको खोप बनाउन रूस सफल भएको औपचारिक घोषणा गरेको थियो । यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन् ।
रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निः शुल्क दिइनेछ । निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएन खोप विकास गरेको बताए । रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । खोपको क्लिनिकल परीक्षणहरूले देखाएको छ कि यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ ।
यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउनको नजिक पुगेको बताएका थिए । एमआरएन वा मेसेन्जर आरएनए मानव आनुवंशिक कोडको सानो भाग हो, जसले हाम्रो कोशिकाहरूमा प्रोटिन बनाउँछ । यो पनि सरल भाषामा बुझ्न सकिन्छ कि जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ ।
यसबाट हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन् । यसको सबैभन्दा ठूलो फाइदा यो हो कि यसले परम्परागत खोप भन्दा छिटो खोप बनाउन सक्छ ।
यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो ।




































