महिला तथा बालबालिकाको सुरक्षामा वैश्विक चुनौती

एक्काइसौँ शताब्दीको आधुनिक, सभ्य र प्रविधिमैत्री भनिएको मानव समाजका लागि आज पनि सबैभन्दा ठूलो कलंक र चुनौतीका रूपमा महिला तथा बालबालिकामाथि हुने हिंसा कायमै छ । विश्वभर लैंगिक समानता, मानव अधिकार र महिला सशक्तीकरणका लागि अनगिन्ती अभियान, सन्धि–महासन्धि र कानुनी व्यवस्थाहरू लागू भइरहँदा पनि हिंसा र हत्याको कहालीलाग्दो शृंखला नरोकिनु अत्यन्तै चिन्ताजनक विषय हो ।

संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसंघीय महिला निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले प्रस्तुत गरेको तथ्यांकले विश्व समुदायको अन्तरात्मालाई झक्झक्याएको छ । सन् २०२५ मा विश्वभर करिब ७८ हजार महिला तथा बालिकाको हत्या हुनु र तीमध्ये करिब ६० प्रतिशत अर्थात् ४७ हजारको हत्या आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुनुले महिलाका लागि सबैभन्दा सुरक्षित ठानिएको आफ्नै घर–परिवार नै सबैभन्दा असुरक्षित थलो बन्दै गएको भयावह यथार्थलाई उजागर गरेको छ ।

प्रतिदिन औसत १२९ र प्रतिघण्टा ५ महिला तथा बालिकाको आफ्नै निकटस्थबाट हत्या हुनु कुनै सामान्य आपराधिक तथ्यांक मात्र होइन, शताब्दीयौँदेखि जरा गाडेर बसेको असमान सोच, असमान शक्ति सम्बन्ध र दण्डहीनताको उपज हो । विश्वका प्रत्येक ३ मध्ये १ महिला आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको लैंगिक हिंसाको सिकार हुनुपर्ने बाध्यताले मानव अधिकारका विश्वव्यापी घोषणापत्रहरूको सार्थकतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

हिंसाका रूपहरू केवल शारीरिक आक्रमण वा हत्यामा मात्र सीमित छैनन्, महिलालाई स्वतन्त्र निर्णय गर्न नदिने, आर्थिक स्रोतमा पहुँच रोक्ने, मानसिक यातना दिने, अपमान गर्ने र सामाजिक रूपमा बहिष्करण गर्ने प्रवृत्ति समाजको तल्लो तहसम्मै जीवित छ । अझ चिन्ताजनक पक्ष के छ भने पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै डिजिटल हिंसा, साइबर निगरानी, धम्की, चरित्रहत्या र निजी तस्वीर तथा भिडियोको दुरुपयोग, महिला तथा बालबालिकाका लागि नयाँ र जटिल चुनौतीका रूपमा देखापरेको छ, जसले वास्तविक जीवनमा समेत गम्भीर शारीरिक र मानसिक क्षति पुर्‍याइरहेको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका शासकको क्रूर आदेशमा मारिएका मिराबल दिदीबहिनीको स्मरणमा सुरु भएको २५ नोभेम्बरको ‘महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ र १० डिसेम्बरसम्म चल्ने १६ दिने अभियानले हरेक वर्ष विश्वभर सचेतनाको आवाज बुलन्द पार्दै आएको छ । संयुक्त राष्ट्रसंघको यस वर्षको नारा ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितलाई संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ले समस्याको मूल चुरोलाई ठीक ढंगले समातेको छ । कानुन किताबका पानामा मात्र सीमित रहँदा र पीडकले राजनीतिक, सामाजिक वा आर्थिक आडमा उन्मुक्ति पाइरहँदा हिंसाको चक्र कहिल्यै तोडिन सक्दैन ।

नेपालको सन्दर्भमा पनि संवैधानिक र कानुनी रूपमा महिला अधिकारका थुप्रै प्रगतिशील व्यवस्थाहरू गरिएका छन् । तर कार्यान्वयनको फितलोपन, पीडितमैत्री न्याय प्रणालीको अभाव, सामाजिक लज्जा र आर्थिक परनिर्भरताका कारण अझै पनि घरेलु हिंसा, बलात्कार, बालविवाह, दाइजो प्रथा र साइबर अपराधका घटनाहरू भयावह रूपमै घटिरहेका छन् । हिंसा सहेर बस्ने सामाजिक मानसिकता नतोडेसम्म र सामान्य देखिने दुर्व्यवहारको सुरुवाती चरणमै राज्य संयन्त्रले प्रभावकारी हस्तक्षेप नगरेसम्म यस्ता घटनाले हत्याजस्तो चरम रूप लिने जोखिम रहिरहन्छ ।

महिला तथा बालबालिकाको सुरक्षा केवल १६ दिने औपचारिक अभियान, गोष्ठी र नाराबाजीले मात्र सुनिश्चित हुन सक्दैन । यसका लागि घरपरिवार, विद्यालय र समाजको तल्लो तहबाटै लैंगिक समानताको संस्कार विकास गर्नुपर्छ । राज्यका निकायहरूले अनलाइन र अफलाइन दुवै माध्यमबाट हुने हिंसाविरुद्ध कडा साइबर तथा फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन, द्रूत न्याय सम्पादन, पीडितको सुरक्षित पुनःस्थापना र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । जबसम्म प्रत्येक महिला र बालिकाले आफ्नै घर, कार्यस्थल, सार्वजनिक स्थान र डिजिटल दुनियाँमा समेत भयमुक्त भएर बाँच्न पाउने वातावरण बन्दैन, तबसम्म मानव सभ्यताको विकास अधुरो र अपूर्ण नै रहनेछ ।

२०८३ मंसिर ११ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।