काठमाडौं । चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । चीनमा फैलिएको कोरोना भाइरस जस्तै एचएमपीभीको तेस्रो केस भारतमा भेटिएको छ । अहमदाबादमा एक २ महिनाको बच्चामा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) संक्रमित भेटिएको हो । यसअघि सोमबार नै कर्नाटकमा ३ महिनाकी बालिका र ८ महिनाका बालकमा पनि यस्तै भाइरस भेटिएको थियो ।
कर्नाटकका दुवै घटनाका सम्बन्धमा केन्द्रीय स्वास्थ्य मन्त्रालयले बालबालिकाहरू नियमित जाँचका लागि अस्पताल पुगेको बताएको थियो । परीक्षणपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, कर्नाटक स्वास्थ्य विभागले बालबालिकाको नमूना सरकारी प्रयोगशालामा नभई निजी अस्पतालमा परीक्षण गरिएको स्पष्ट गरेको छ ।
गुजरातको ओरेन्ज हस्पिटलका डा नीरव पटेलले अहमदावादको दुई महिनाको बच्चालाई १५ दिनअघि अस्वस्थताका कारण अस्पतालमा भर्ना गरिएको बताए ।
बच्चालाई चिसो र उच्च ज्वरो आएको थियो । सुरुमा उनलाई पाँच दिन भेन्टिलेटरमा पनि राखिएको थियो । यसपछि गरिएका धेरै परीक्षणहरूले बच्चालाई भाइरसबाट सङ्क्रमित भएको पाइएको थियो । एजेन्सी




































