रवि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएनन् अब आइतबार हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छैनन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् ।

रविलाई आफैँ अदालतमा उपस्थित हुने सर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो । यद्यपि उनी आइतबारमात्रै अदालत उपस्थित हुने सो पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले जानकारी गराएका छन् ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।