पेरिस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको छ ।
इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, ‘द्वन्द्वले ‘सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी सङ्घको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ।’
इएसएसले पश्चिमी रूसी हवाई क्षेत्रमा उडान नगर्न एयरलाइन्सका लागि आफ्नो सिफारिसलाई पुनः नवीकरण गरेको छ ।
रूसले युरोपेली सङ्घ (इयू) का विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दाबी गरेका छन् ।
रूसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ, तर उसले विमानमा गोली लागेको स्वीकारेको छ ।




































