काठमाडौं । केही वर्ष अघिसम्म सफा हुने बागमतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको वाग्मती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ । नदी बढी प्रदूषित हुन थालेपछि वाग्मती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिरमुनिको बाँधस्थलमा सफाइ गरेको छ।
वाग्मती सफाइ महाअभियानको छ सय १५औँ हप्ताका अवसरमा आयोजना गरिएको सफाइ कार्यक्रमबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको बागमती सफाइ महाअभियानको छ सय १५औँ शृङ्खलामा नगरप्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामासहित कर्मचारी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, गोकर्ण नगरपालिका–४ का अध्यक्ष जयराम महत, वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठसहित जनप्रतिनिधि, मितेरी मार्ग संरक्षण समाजका अध्यक्ष पासाङ तामाङसहित पदाधिकारी, लायन्स क्लब अफ संसराका अध्यक्ष विकास थापासहित टोली, माथिल्लो वाग्मती सरसफाइ अभियान, अभियानका प्रमुख लीलामणि पौड्याललगायत सफाइ अभियानकर्मी सहभागी भएका थिए ।
आउँदो शनिबार पशुपति राममन्दिर अगाडि, बागमती नदी किनारबाट पञ्चदेवल हुँदै भुवनेश्वरी मन्दिरसम्मको भाग सफाइ गर्ने निर्णय गरिएको छ ।




































