रिडी–तम्घास सडकको भौतिक प्रगति ५५ प्रतिशत

गुल्मी । पछिल्लो समय गुल्मीको रिडी–तम्घास सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । सडक ट्र्याक खुलेको ४३ वर्षपछि सडक स्तरोन्नतिको कामले गति लिएको हो ।

मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास सडकको राजासम्म सडक स्तरोन्नति गर्ने कार्य हुँदै आएको छ । २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

मदन भण्डारी योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलका अनुसार फागुनको दोस्रो सातासम्म आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत छ ।

निर्माण व्यवसायीले आउँदो असारसम्म ८ किलोमिटर कालोपत्र, ३ किलोमिटर ढलानको काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको उनले बताए ।

बर्खासम्म २५ किलोमिटर क्षेत्रको नाली निर्माण र ग्राभेलको काम पनि सम्पन्न हुने इन्जिनियर पौडेलले बताए । सडकको कटिङ्गको काम सकिएको समानन्तर इलाइट जेभीले जनाएको छ । सडकको कामलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण व्यवसायीको दाबी छ ।

गुल्मीको जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारीसाधनको चाप पनि उत्तिकै हुने गर्दछ । अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो ।

सवारीसाधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र हुन लागेको हो ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समानन्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २८ फागुन २०७९ मा सम्झौता भई २५ फागुन २०८२ सम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

१ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरोन्नति र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । तम्घास भित्रिने मुख्य राजमार्ग भएकाले यसलाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सबै पक्षले निकै चासोका साथ हेरिएको छ।

गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलो पटक ट्याक्टर आएको थियो ।

जनसंख्या वृद्धिसँगै अहिले सवारीसाधनको चाप पनि बढदै गएको छ । सडक विस्तारले बलेटक्सार, श्रृङ्गा, लुम्छा, विरवास लगायतका ठाउँमा केही बस्ती समेत हटाइने भएको छ । मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी, पुर्कोट हुँदै प्युठान जोडिएको छ ।

राजमार्गको तम्घास सिमलटारी खण्डको २९ किलोमिटर ५ वर्ष पहिले कालोपत्र भएको थियो । सिमलटारी सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडि बढेको छ । सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । त्यस स्थानमा काम निकै सुस्त गतिमा हुँदै आएको छ।

मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माणकार्य गर्दै आएको छ । सडकको १ अर्ब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको छ ।६ कात्तिक २०७९ मा सम्झौता भएको सडक निर्माण सम्पन्न गर्ने समय ५ साउन २०८२ सम्म छ ।