काठमाडौं । निर्मल निवासले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ ।
आइतबार जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवासमा पुगेपनि बुझ्न अस्वीकार गरेपछि अब हुलाकमार्फत पठाउने तयारी भएको महानगरले जनाएको छ।
चैत्र १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक क्षति गरेको भन्दै विभिन्न शीर्षमा गरी महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार बराबरको जरिवाना पत्र काटेको थियो।
यद्यपि, प्रदर्शनको आयोजना गरेको राप्रपा र राप्रपा नेपालले भने आफूहरूले आयोजना गरेको कार्यक्रममा पूर्वराजा शाहको नाममा जरिवाना पत्र काटिनु सस्तो लोकप्रियता भएको टिप्पणी गरेका छन्। आफूहरूले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएरै कार्यक्रम गरेको बताउँदै उनीहरूले यस्तो टिप्पणी गरेका हुन्।





































