काठमाडौं । फुटबलर अन्जिला तुम्बापोको जीवनीमा आधरित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र अहिले देशभरमा ४५ शोहरूसहित प्रदर्शन भइरहेको छ ।
साथै चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सको दाबी छ । यद्यपि चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि मात्रै चलचित्रले कति कमाएको हो भन्ने स्पष्ट रुपले खुल्नेछ ।
चलचित्रले ५१ औं दिन मनाएपछि चाम्सले भने, ‘हामी सफलताका साथ ५१ दिनमा पुगेका छौँ । अञ्जिला नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली वायोपिक चलचित्र बनेको छ ।’
चलचित्र युनिटले यो उपलब्धिको अवसरमा शुक्रवार विशेष समारोहको आयोजना गरेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।



































