वीरेन्द्रनगर । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् ।
यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ औं रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए । प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उहाँले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील छ भने ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए । ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’’ उनले भने, ‘‘यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’’
साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनले बताए । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएका बताए । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कैसैलाई छुट नभएको मन्त्री गरुङको भनाइ थियो ।




































