कैलाली । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधबारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ ।
धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए। पर्वका अवसरमा मन्दिरमा अहिले राति १२ः०० बजे जल चढाएर पूजाअर्चना सुरुआत गर्ने परम्परा छ ।
कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबामा पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू यहाँ आउने गर्दछन् । बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभई देशकै धरोहरका रूपमा परिचित छ । परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ ।
यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरूमा छ । यसैगरी, यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुहरूको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत व्यवस्थापन गरेको व्यवस्थापन समितिले जनाएको छ ।
गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ । यहाँ हरेक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले विभिन्न चाहपर्वहरू जस्तै गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड मानिँदै आएकाले यसको महत्व बुझेर उपमहानगरपालिकाले यही जेठ २२ गते अर्थात् बिहीबार सार्वजनिक बिदासमेत दिएको बताए । उपमहानगरपालिकाले बेहडाबाबामा आउने भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको नगरप्रमुख हमालले बताए ।
मेलामा यहाँका नेपाली मात्रै नभएर भारतका व्यवसायीहरूले समेत केही दिनअघि नै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् । यस्तै, धाममा भक्तजनहरूलाई दर्शन तथा पूजापाठको व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।




































