अख्तियारले बोलायो काठमाडौं महानगरका मेयर बालेनलाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई बोलाएका छन् ।

अख्तियारले फ्रान्स भ्रमणको जानकारी दिन भन्दै बालेनलाई बोलाएको हो । गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरूलाई पनि कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत वर्ष फ्रान्स गएका थिए । त्यति बेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रूपमा सहभागी भएका थिए ।

मेयर साहले त्यहाँ जाँदा सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेको छ ।