दमौली । जिल्लाको भिमाद नगरपालिका-१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो ।
लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको क्लबका पूर्वअध्यक्ष सन्तराम थापाले जानकारी दिए ।
मगरको बाहुल्यता रहेको यस क्षेत्रमा कौरा नृत्य प्रख्यात रहेकाले यसको संरक्षण र संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उनले बताए । उनले भने प्रतियोगितामा ऋषिङ सांस्कृतिक समूह प्रथम, नेपाल मगर सङ्घ भिमाद इकाई द्वितीय, सिरौले कौरा समूह तृतीय र चित्रे कौरा समूह चौथो भएका छन् । विजयीलाई क्रमशः रु ६० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
विजयीलाई पुरस्कार वितरण गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरूरुले कौरा संरक्षणका लागि थालेको पहल उदाहरणीय रहेको बताए । कौराको उत्पत्ति तनहुँको ऋषिङबाट भएको जनाउँदै उहाँले पालिकाले पनि मौलिक परम्परा र संस्कृति संरक्षण र प्रवर्द्धनमा समन्वय गर्दै आएको उल्लेख गरे ।




































