काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य बढाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ। यो नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८१.५० रुपैयाँ, डिजेल तथा मट्टीतेल १७१.५० रुपैयाँ कायम गरिएको छ। हवाई इन्धन (आन्तरिक उडानका लागि) को मूल्य पनि प्रतिलिटर १०० रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धन ९१६ डलर प्रतिकिलोलिटर कायम गरिएको छ। एल.पी. ग्यासको मूल्य यथावत् राखिएको छ।
निगमले सार्वजनिक गरेको विवरण अनुसार पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य काठमाडौं, पोखरा, र विराटनगरलगायत तेस्रो वर्गका स्थानहरूमा लागू हुनेछ। यसबाहेक अन्य स्थानहरूका लागि क्षेत्रअनुसार मूल्य फरक हुनेछ।
































