लिभरपुलका फरवार्ड जोटाको कार दुर्घटनामा निधन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिओगो जोटाको स्पेनमा भएको कार दुर्घटनामा आफ्ना भाइ आन्द्रेसँगै २८ वर्षको उमेरमा निधन भएको छ ।

पोर्चुगिज फुटबलर जोटा र उनका भाइ आन्द्रे सवार कार जामोरा प्रान्तमा सडकबाट खसेर आगो लाग्दा दुवैको मृत्यु भएको हो। आन्द्रे पनि फुटबल खेलाडी हुन् ।

उनीहरू चढेको कार जामोरा शहर नजिकै सडकबाट अनियन्त्रित भई खसेको र त्यसमा आगो लागेको थियो ।

यो दुर्घटना ए-५२ राजमार्गमा भएको बताइएको छ, जहाँ उनीहरूको कार सडकबाट बाहिर गएर आगलागी भएको थियो । यो खबर बीबीसी स्पोर्ट्स र स्काइ स्पोर्ट्सले स्थानीय अग्निनियन्त्रक र गार्डिया सिभिललाई उधृत गर्दै लेखेका छन् ।

यो दुर्घटना जोटाको कार्डोसोसँग जुन २२, २०२५ मा भएको विवाहको दुई हप्ता पनि नबित्दै भएको हो । २८ वर्षीय जोटा सन् २०२० मा प्रिमियर लिग प्रतिद्वन्द्वी वुल्भ्सबाट ४४.७ मिलियन युरोमा लिभरपुलमा अनुबन्धित भएका थिए ।

त्यसयता उनले लिभरपुलका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका छन् र २६ गोलका लागि असिस्ट प्रदान गरेका छन् ।