भोजपुर हत्या घटनाः शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको ‘फरेन्सिक’ परीक्षण गर्न सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले सुसराली घरमै १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए ।

अभियुक्त राई घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले सङ्कलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले सङ्कलित एक लाख १४ हजार आठ सय ७१ रुपैँया रकम मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन् ।

मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उनको भनाइ छ ।