कार्यक्रम ‘द फ्याब शो’ बिहीबारदेखि प्रसारण हुदै

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘द फ्याब शो’ विहीबारदेखि अर्थात आजबाट हिमालय टिभीमा प्रसारण हुदै छ ।

उक्त कार्यक्रमलाई समीरमणी दीक्षितको नेतृत्वमा अन्य ६ प्रस्तोताले संचालन गर्नेछन् । मिस नेपाल अर्थ २०२४ सुमना केसी, भ्लगर र लैंगिक अल्पसंख्यक समुदायका अभियन्ता लेक्स लिम्बु, उद्यमी सिर्जना जोशी, ज्योतिष सुरेशचन्द्र रिजाल, खेल संवाददाता अनन्त वाग्ले र कवयत्री विपना अधिकारी प्रस्तोता रहेका छन् ।

सूचना, मनोरञ्जन र रमाइला पाहुना विशेष हुने यो शोलाई नयाँ शैलीबाट ल्याइने प्रस्तोता दीक्षितले बताए ।

‘शो नयाँ तरिकाबाट आउँदैछ । अन्त किन हेर्ने ? हामीसँग सबैथोक छ । हामीसँगै सूचना, इन्टरटेनमेन्ट र रमाइला गेस्ट हुनेछन्’ उनले भने ।

विचार क्रिएसनको प्रस्तुतिमा आउन लागेको यो शो दर्शकको लागि जानकारीमूलक र उत्प्रेरक हुने विश्वास समीरमणीको छ । यो शोका लागि विचार क्रिएसन र हिमालय टिभीबीच एक वर्षको सम्झौता छ ।

‘द फ्याब शो’ हरेक साताको विहीबारदेखि सोमबारसम्म बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म हिमालय टिभीमा प्रसारण हुनेछ । सोही दिनमा बेलुका हिमालय टिभी प्रिमियममा ९ देखि १० बजेसम्म आउनेछ ।

साथै, हिमालय टिभीको फेसबुक र युट्युब च्यानलमा बेलुका ६ देखि ७ बजे शो स्ट्रिमिङ हुनेछ ।