ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक

काठमाडौं । सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई अभिव्यक्त गरेकी छन् ।

कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताइन् ।

कृतिको समीक्षा गर्दै समालोचक डा विन्दु शर्माले अपाङ्गता भएकी छोरीको हेरचाहमा रमाउँदा ज्ञवालीले अनुभूत गरेको भावनात्मक लेखनले आमपाठकलाई भावुक बनाएको बताइन् ।

लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरीको हेरचाह गरेर भातभान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताइन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पत्नी लेखक सरस्वतीका यसअघि कविता र संस्मरणसहित दुई कृति प्रकाशित छन् ।