पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भिषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।

रातभर वर्षा भएपछि आज बिहान ९ः०० बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको हुँदा खुलाउन नसकेको प्रहरी निरीक्षक थापाले बताए । सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेको उनको भनाइ छ ।

“कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ, पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ”, प्रहरी निरीक्षक थापाले भने , “यातायता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ, कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ ।”