काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखर वार्ताका क्रममा युक्रेनका लागि ‘बलियो सुरक्षा प्रत्याभूति’ प्रदान गर्न सहमति भएको ह्वाइट हाउसका एक उच्च दूतले आइतबार बताएका छन् ।
सीएनएनसँग कुरा गर्दै स्टिभ विटकोफले भने, “रुसले विशेष गरी पूर्वी डोनेट्स्क क्षेत्रका युक्रेनी ‘पाँच वटा क्षेत्रमा अनिर्दिष्ट छुट’ दिन सहमत भएको छ।”
विटकोफले भने, “हामी बलियो सुरक्षा ग्यारेन्टीमा सहमत भयौँ, जसलाई म परिवर्तनको रूपमा वर्णन गर्न चाहन्छुु।”
उनले अगाडि भने, “रूसीहरूले ती पाँचवटै क्षेत्रहरूको सन्दर्भमा छलफलका लागि केही छूटहरू दिने बताएका छन् । डोनेट्स्क के हुनेछ भन्ने सन्दर्भमा एक त्यहाँ महत्त्वपूर्ण छलफल भएको छ। त्यो छलफल विशेष गरी सोमबार विस्तृत हुनेमा हामी आशावादी छौँ ।”
ट्रम्पले सोमबार जेलेन्स्की र केही युरोपेली नेताहरूलाई रूसले आफ्नो छिमेकीमाथि गरेको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने उपायहरूबारे छलफलका लागि बैठकको आयोजना गर्ने छन् ।
पुटिनसँगको अलास्का शिखर सम्मेलनपछि ट्रम्पले युद्धविरामका लागि दबाब दिएपछि यो तयारी गरिएको हो। शिखर सम्मेलनअघि वासिङ्टनको मुख्य मागमध्ये एक युद्धविराम थियो । यद्यपि, सम्मेलनमा युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई निमन्त्रणा गरिएको थिएन।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार एनबीसीसँग कुरा गर्दै युद्धविरामको कुरा टेबुलबाट बाहिर नरहेको तर हामी अन्ततः यो युद्धको अन्त्य गर्ने लक्ष्यमा रहेको बताएका छन् ।
आइतबार आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा पछिल्लो पटक एक संक्षिप्त पोस्ट गर्दै ट्रम्पले ‘रूससँगको छलफलमा बृहत् प्रगति’ भएको बताउँदै यसको प्रशंसा गरे ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मन चान्सलर फ्रेडरिक मर्ज, नेटोका महासचिव मार्क रुटलगायतका नेता सोमबार वासिङ्टन जाँदैछन् ।




































