नेपालले होबर्ट हरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई १८१ रनको लक्ष्य दिएको छ । डार्बिनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन जोड्यो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २७ रन र आसिफ शेखले २९ रन बनाए । भीम सार्कीले १८ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले ९ रन मात्र बटुल्न सके। कुशल मल्लले ८ बल खेल्दा ६ रन मात्र बनाए।

नेपालका लागि सर्वाधिक रन बनाएका आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा ३३ रन जोडे। करण केसी १ रनमा आउट हुँदा लोकेश बमले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन बनाए।