काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।
यसअघिका तीन खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार होबर्ट हरिकेन्स एकेडेमीलाई ६६रनले पराजित गर्यो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो ।
होबर्टलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका नन्दन यादवले ५ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए ।
होबर्टका लागि बाड्ली होपले ३१ रन र चार्ची वाकिमले २८ रन जोड्नुबाहेक अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । त्यसअघि डार्बिनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन जोड्यो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २७ रन र आसिफ शेखले २९ रन बनाए। पावरप्लेको अन्तिम ओभरमा क्याच हुनुअघि भुर्तेलले २० बलमा ४ चौका प्रहार गरे। आसिफ २८ बल खेलेर २ चौका प्रहार गर्न सके ।
भीम सार्कीले १८ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले ९ रन मात्र बटुल्न सके। कुशल मल्लले ८ बल खेल्दा ६ रन मात्र बनाए ।
नेपालका लागि सर्वाधिक रन बनाएका आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा ३३ रन जोडे। करण केसी १ रनमा आउट हुँदा लोकेश बमले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन बनाए ।
बलिङमा होबर्टका निभेथन राधाकृष्णनन र राफ म्याकमिलनले २-२ विकेट लिए । सिरिजमा नेपालले यसअघिका तीनै खेलमा पराजय भोगेको थियो। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो ।
अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।




































