काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पाकिस्तान सहिन्ससङ १ रनले पराजित भएको छ ।
शुक्रबार डार्विनको मरार क्रिकेट मैदानमा पाकिस्तान सहिन्सले दिएको १४५ रनको लक्ष्य नेपालले पाएको थियो । नेपालले ७ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो ।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५२ रन बनाए । ५२ रन बनाउने क्रममा उनले ४ चौका र १ छक्का समेत प्रहार गरे ।
नेपालका ओपनर कुशल भुर्तेल ४ रन बनाउँदै मैदानबाट बाहिरिएका थिए। त्यस्तै, अर्का ओपनर आशिफ शेख २९, गुल्शन झा ३ रन बनाउँदै आउट भए ।
त्यस्तै, लोकेश बम २० र कुशल मल्ल २ रन बनाउँदै आउट भए । नेपालका दीपेन्द्र सिंह ऐरि र आरिफ शेख नटआउट रहे । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिए पनि ६ रन मात्र बनाउन सक्यो ।
यसअघि डार्विनको मरार क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए । क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे ।
पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । सन्दीप लामिछानेले आफ्नो स्पेलमा २८ रन दिए पनि विकेट भने लिन सकेनन् । एक जना रनआउट भएका थिए ।
नेपालले जारी प्रतियोगितामा ६ खेलमा ४ अंक जोडेको छ । पाकिस्तान ६ खेलमा ८ अंक बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।




































