कांग्रेस नेता राणाद्वारा मिर्गौला रोग पीडितलाई १ लाख २५ हजार सहयोग

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी रवि राणाले मिर्गौला रोग पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले मिर्गौला प्रत्यारोपणपछि उपचार गराउँदै आएका जपिन्द्र अवाल (मेथी)लाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस, भक्तपुरको कार्यालय, सल्लाघारीमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राणाले प्रदान गरेको सहयोग अवाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सांसद थापाले राणाले देखाएको सेवा भावनाको खुलेर प्रशंसा गरे । उनले राजनीतिकर्मी समाजका सेवक भएको उल्लेख गर्दै समाजलाई नि:स्वार्थ भावले सेवा गर्दै आएकोमा राणाको प्रशंसा गरे । सो अवसरमा युवा नेता राणाले परिवार र पार्टीबाट प्राप्त प्रेरणाले आफू समाजसेवामा सक्रिय भएको बताए ।

राणाले यस अगाडि पनि समाजको विभिन्न क्षेत्रमा आर्थिक लगायतका सहयोग गर्दै आइरहेका छन् ।