चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् ।
चीनको थियानजिनस्थित अतिथि गृहमा शनिबार भएको सौहार्दपूर्ण द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दालाई प्राथमिकताका साथ उठाएका हुन् ।
चीन र भारतबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भएको सम्झौताप्रति नेपालको गम्भीर आपत्ति रहेको बताउँदै उनले सुगौली सन्धि अनुसार उक्त भूमि नेपालको भएको स्मरण समेत गराए ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको सार्वभौम भूमि भएको स्पष्ट पारेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
भेटपछि सचिव राईले भने, ‘प्रधानमन्त्रीज्यूले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग नेपालको भएको स्पष्ट पार्दै चीन-भारत सम्झौताप्रति नेपालको आपत्ति रहेको कुरा राख्नुभयो ।’
सचिव राईका अनुसार भेटका क्रममा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा पनि कुराकानी भएको थियो । सम्बन्ध र सहकार्यलाई थप अभिवृद्धि गर्न दुवै देशका विद्यमान संयन्त्रहरूलाई सक्रिय बनाउने समझदारी बनेको छ ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा छन् ।




































