विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गर्नुभएको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् ।

सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गरेका हुन् ।लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । त्यसयता उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका छन् ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उहाँलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।

शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए । अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।