काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताएका छन् ।
संसदीय सुनुवाई समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि आज रासससँग कुरा गर्दै उनले गलत व्यक्ति सिफारिस भई सुनुवाईका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताए ।
एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताए ।
यति हु्ँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उनको प्रतिबद्धता छ । समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्बाह गर्ने प्रतिबद्धता पनि उनले शपथ ग्रहणपछि जनाएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउदै उनले अरुको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रष्ट पारे ।
































