दशैंको अग्रिम टिकट खोल्ने तयारी, यातायात मन्त्रालयमा छलफल हुँदै

काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल हुँदै छ ।

यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोकारवालासहितको बैठकमार्फत बुकिङ खोल्नेबारे निर्णय हुने भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)का अनुसार सरकारसँगको छलफलपछि टिकट बुकिङको मिति टुंगो लाग्नेछ । उनका अनुसार वर्षा, शान्ति–सुरक्षाको अवस्था र हालैको जेनजी आन्दोलनपश्चातको प्रभाव मूल्यांकन गरी निर्णय हुने भएको हो ।

आन्दोलनका क्रममा हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि कर्फ्यु हट्दै गए पनि सुरक्षा वातावरणप्रति व्यवसायी सतर्क देखिएका छन् । सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए व्यवसायी अग्रिम टिकट बिक्री सुरु गर्न तयार रहेको महासंघले जनाएको छ ।