दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

काठमाडौं । दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ ।

कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा र सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ ।

सहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा भन्दा भाउ बढेको पाइएको गोदावरीबाट सामान किनमेलका लागि महाबौद्ध आएकी सजना आचार्यले बताइन् । “तीजअघिभन्दा पनि अहिले भाउ बढेको रहेछ, गत हप्ताको आन्दोलनका कारण व्यवसायीले भाउ बढाएजस्तो लाग्यो, कुनै पनि निकायले अनुगमन गरेजस्तो लागेन,” उनले भनिन् , “सरकारी निकायले जुनसुकै सामान किन्दा बिल लिनु भने पनि बजारमा व्यवसायी बिल दिन अप्ठ्यारो मान्छन्, प्यान र भ्याट बिल त हत्तपत्त दिँदैनन्, दिनै परे पनि सादा बिल दिन्छन् ।”

चीनसँगको नाका तातोपानी र रसुवागढी बन्द भएका कारण कपडा नआएकाले व्यवसायीले भाउ बढाएको जनाएका छन् । सरकारले अनुगमन नगर्ने र दोषीलाई कारबाही गर्ने प्रणालीको विकास नभएका कारण दण्डहीनता मौलाएको थानकोटबाट आएका मङ्गलबहादुर तामाङको भनाइ छ । तीन तहको सरकार भए पनि अनुगमनमा कसैको रुचि नभएको उनको भनाइ छ ।

बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत भदौ ३० गतेदेखि नै सहुलियत मूल्य पसल सुरु गरिसकेको छ । यसले उपभोक्तालाई केही राहत दिएको छ । ती सुपथ मूल्य पसलमा रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।

दाल, चामल, चिनी, गहुँका सामग्रीमा रु पाँच छुट गरिएको छ । त्यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायतमा रु सात छुट दिइएको छ । चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए । सहुलियत मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुने जनाइएको छ ।

यस्ता पसल प्रत्येका वडामा कम्तीमा एउटा खोलिदिए पर्वमा उपभोक्ताले राहत पाउने भक्तपुरको सूर्यविनायकबाट सामान किन्न आएका बलराम कोजुले बताए ।