तुइन खोलामा फेरि भीषण पहिरो, मुग्लिन-नारायणगढ सडकखण्ड अनिश्चितकालीन बन्द

चितवन । मुग्लिन-नारायणघाट सडकखण्ड फेरि पहिरोका कारण प्रभावित बनेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिकै मंगलबार बेलुका साढे ४ बजे झनै ठुलो सुक्खा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

यसअघि दिउँसो १ बजे पहिरो पन्छाएर सडक दुई एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

सडक डिभिजन भरतपुरका अनुसार सो क्षेत्रमा सुख्खा पहिरो झर्ने क्रम नरोकिएकाले तत्कालै मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन।

लगातार पहिरो खसिरहने भएकाले साइटमा पहिरो पन्छाउने मेसिनहरू तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने हजारौं सवारीसाधन तथा यात्रुहरू प्रभावित भएका छन्।