मेयर हर्कले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ । ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन् ।

‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता चाहिँ भइसकेको छैन । आयोग जाँचबुझ प्रक्रियामै छ ।’

साम्पाङ आफैँले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन् । तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन् । निर्वाचन आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको छ।

‘रित पुगेर आएको दल दर्ता गर्नै पर्छ । अहिले दसैं बिदा सुरु हुन लाग्यो । रित पुगेर आएको भए दसैँलगत्तै दर्ता हुनसक्छ,’ आयोगका सूचना अधिकारी घिमिरेले भने ।