नेपालपछि मेडागास्करमा जेनजीको विरोध, राष्ट्रपतिद्वारा सरकार विघटनको घोषणा

काठमाडौं । मेडागास्करमा युवाहरूको विरोध प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति एन्ड्री राजोएलिनाले सरकार विघटनको घोषणा गरेका छन्।

लामो समयसम्म पानी र बिजुली कटौतीको विरुद्ध युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि यो घोषणा आएको हो।

“यदि सरकारले जनताले सुम्पेको जिम्मेवारी पूरा गरेको छैन भने, हामी यसलाई स्वीकार गर्छौं र माफी माग्छौं,” एन्ड्री राजोएलिनाले सोमबार टेलिभिजन सम्बोधनमा भने।

यी प्रदर्शनहरूमा, गत बिहीबारदेखि हजारौं युवाहरू राष्ट्रपतिको राजीनामाको माग गर्दै सडकमा उत्रिएका थिए।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुखले यस विरोध प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको बताएका छन्।

मानव अधिकार प्रमुखले पनि प्रदर्शनकारीहरू विरुद्ध सुरक्षा बलको यो कारबाहीको निन्दा गरेका छन्।

माडागास्करको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको तथ्याङ्कलाई अस्वीकार गरेको छ।

मन्त्रालयले यी तथ्याङ्कहरू ‘अफवाह वा गलत जानकारी’ मा आधारित भएको बताएको छ।