विपद् छिचोल्दै इन्जिनियर भण्डारीको प्रेरणादायी यात्रा

कर्तव्य र देशसेवाको अद्भुत उदाहरण

काठमाडौं । दशैँको रौनकले देशभर वातावरण उत्सवमय छ, यहि बेला देशैँभरि वर्षाको कारण यातायात ठप्प प्राय: छ । कार्यालयहरू बन्द, सहर सुनसान र हरेक नागरिक परिवारसँग रमाउँदै घरमै छन् । तर, सडक विभागका एक इन्जिनियर भने आरामका लागि होइन, जिम्मेवारीका लागि बाटो लागे।

सिन्धुपाल्चोक सडक डिभिजनका डिभिजन इन्जिनियर नारायणदत्त भण्डारीले पोखरामा परिवारसँग दशैँ मनाइरहेका बेला आफू कार्यरत क्षेत्र—सिन्धुपाल्चोक फर्किने निर्णय गरे। कारण थियो मौसम विज्ञान विभागले दिएको चेतावनी । विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना जनाएपछि उनले अनुमान गरे, “भारी वर्षा पर्‍यो भने फेरि सडक अवरुद्ध हुने जोखिम बढ्छ।” यही सोचका कारण उनले बिदा बीचमै यात्राको तयारी गरे।

तर यात्रा सहज थिएन। हिजोको टिकट नपाएपछि आज शनिवार बिहान ७ बजेको पोखरा–काठमाडौं उडान लिएर विमानस्थल पुगेका उनले मौसमका कारण फ्लाइट ढिलो हुँदै ८:३० बजे मात्र उड्ने जानकारी पाए। आकाश कालो मडारिरहेको थियो, विमानस्थल बन्द हुने सम्भावना थियो। उनले काउण्टरमा अनुरोध गरे—“मलाई कार्यस्थल पुग्न जरुरी छ।” एयरलाइन्सका कर्मचारीले हाँसेर भने, “उल्टो सिट खाली छ, जानुहुन्छ?” उनले नहिचकिचाई भने, “उल्टो सिटमा बसेर भए पनि पुग्छु।”

काठमाडौं अवतरणपछि उनी सीधा चरिकोटतर्फ लागे। धुलिखेल पुग्दा गाडीहरू रोकिएका थिए—“खावा खण्डमा पहिरो गएको छ” भन्ने हल्ला थियो। उनले तत्काल भक्तपुर डिभिजनका इन्जिनियर सितारामलाई सम्पर्क गरे। उनले जानकारी दिए—“बाटो बन्द गरिएको होइन, तर जोखिमका कारण प्रशासनले रोक लगाएको हो।” त्यसपछि उनले काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर आफ्नो परिचय र उद्देश्य बताए।

सीडीओले भने, “९ बजेपछि बाटो बन्द गरिएको छ, जोखिम छ, जान मिल्दैन।” तर भण्डारीले “साइटमा खट्ने मात्रले साइटको पीडा बुझ्छ” भन्दै यात्रामा अडिग रहे। ड्युटीमा खटिएका प्रहरीसँग छलफलपछि उनी अघि बढे। प्रहरीहरूले समेत भने, “जोखिम छ, तर ध्यान दिएर जानुहोस्।”

र उनले त्यसै गरे। धुलिखेल–खावा खण्डमा पाँच ठाउँमा पहिरो, ढुङ्गा र हिलाम्मे बाटो पार गर्दै, कहिले रोकिँदै, कहिले दौडिँदै उनी १:४५ बजे चरिकोट पुगे। भिजेका कपडा, थाकेका आँखाहरू र मनमा शान्ति—किनभने उनी अब आफ्नो जिम्मेवारीको ठाउँमा पुगेका थिए।

इन्जिनियर भण्डारीको यो यात्राले एउटा सन्देश दिन्छ, कर्तव्य र जिम्मेवारीले कहिलेकाहीँ चाडपर्वभन्दा ठूलो अर्थ राख्छ। जब राज्यका कर्मचारीहरू आफ्नो कामप्रति यति समर्पित हुन्छन्, तब जनतामा भरोसा बढ्छ।

गत महिना लगातार वर्षाका कारण अरनिको राजमार्ग करिब एक महिना अवरुद्ध थियो। भण्डारी कार्यभार सम्हालेपछि उक्त मार्ग खुलाउन उनले नेतृत्व गरे। त्यही इन्जिनियर आज फेरि अर्को जोखिमका बीच आफ्नो क्षेत्र फर्किए—फर्किने कारण, त्यो नै हो जुन देशप्रेम र सेवाभावको साँचो उदाहरण हो।