विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पुर्याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री पुर्याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रूपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिए।
कोशी प्रदेशका मुख्यमन्त्री कार्की आफैँ राहत सामग्री लिएर इलाम पुगेका हुन् । उनले आज बिहान इलामका बाढी पहिरो र विपदबाट पीडित सँग भेटघाट गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो। मुख्यमन्त्रीले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाइएको जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरू चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ।
प्रदेश सरकारले असोज १७ र १८ गते भएको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरूको उद्धारको कार्य पछि राहत सामग्री पठाएको मन्त्रालयका सचिव आचार्यले बताए ।




































