गण्डकी । पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल सङ्घ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरूलाई लक्षित गरी संयोजक तोकिएका छन् ।
यस क्षेत्रका विभिन्न २८ वटा गल्ली (स्ट्रिट) र छ वटा टोललाई लक्षित गरी संयोजक तोकिएको र ती संयोजकले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी आफ्ना उपसमितिहरूलाई पूर्णता दिने सङ्घले जनाएको छ ।
उल्लेखितस्थल बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमासमेत यस्ता संयोजक तोकिएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
जेनजी आन्दोलनपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानैलयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलवासीको सुरक्षाको लागि संयोजक तोकेर अगाडि बढिएको उनले बताए ।
पर्यटन क्षेत्रमा चोरीका घटना पनि फाट्टफुट्ट देखिन थालेको उल्लेख गर्दै उनले आँफूहरूको अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्बन्धित रहेको बताए ।
व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिनसमेत आफूहरु एकजुट भएको उनको भनाइ छ । सबै होटल र टोलका सिसीटिभी क्यामेरा चालु अवस्थामा राख्ने, बिग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक बत्तीको मर्मतसम्भार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्नसमेत तोकिएका संयोजक र उपसमितिले सघाउने सङ्घले जनाएको छ ।




































