प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाले एक्लै काम गर्न सक्दैनः वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानले राष्ट्रिय सभालाई एक्लै निर्णय गर्ने अधिकार नदिएकाले प्रतिनिधिसभा विघटनपछिको अवस्थामा राष्ट्रिय सभाले स्वतन्त्र रूपमा काम गर्न नसक्ने धारणा राख्नुभएको छ ।

नेपाल एफएम नेटवर्कद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक र संवैधानिक अनिश्चितताबीच राष्ट्रिय सभाको भूमिका कस्तो हुन्छ ?’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले राष्ट्रिय सभालाई एक्लै निर्णय गर्ने अधिकार संविधानले नदिएको उल्लेख गरे ।

उनले भने , “संविधानले एक्लै काम गर्ने अधिकार राष्ट्रिय सभालाई दिएको छैन । जब सङ्कटकाल घोषणा हुन्छ, तब मात्र राष्ट्रियसभाको विशेष भूमिका रहन्छ । निर्वाचन नभएसम्म हामीले केही गर्न सक्दैनौँ । राष्ट्रिय सभाको अधिवेशन भएको अवस्थामा पनि ठूला निर्णय गर्न सकिँदैन । देशले कल्पनानै नगरेको अवस्था सृजना भएको छ ।”

राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले संविधानले राष्ट्रिय सभाको भूमिका स्पष्ट पारे पनि राजनीतिक गतिरोधका कारण सक्रियता देखिन नसकेको बताए । राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले तिहारलगत्तै राष्ट्रपतिबाट संसद् अधिवेशन बोलाउनुपर्नेमा जोड दिँदै भने, “संविधान हुँदाहुँदै राज्यविहीन भएको महसुस गरिनुहुँदैन । यो विशेष परिस्थिति हो, सरकारले तत्काल संसद् अधिवेशन बोलाउनुपर्छ ।”

राष्ट्रियसभा सदस्य कृष्ण अधिकारीले निष्पक्ष निर्वाचन, राजनीतिक दलबीच सहकार्य र राष्ट्रिय सभाको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै भने, “राष्ट्रिय सभाले सङ्कल्प प्रस्ताव पेस गर्नुपर्छ । संविधान रहुञ्जेलसम्म राष्ट्रियसभा जीवित रहन्छ ।”