गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर । तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् ।

आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो सांस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका छन् ।

“प्रत्येक गाउँमा घरघरमा पुगेर विशेषगरी काग तिहारदेखि भाइटीकाका दिनसम्म पुरुष र महिलाका छुट्टाछुट्टै समूहले आफ्नै पारामा एक जनाले भैली गीत गाउने र अरुले भट्याउने चलन थियो”, सुदूरपश्चिमको संस्कृतिका जानकार पूर्वशिक्षक शेरबहादुर भण्डारी भने , “भैली गीत गाएर सकेपछि आशीष दिने चलन थियो, घरबेटीले भैली गाउन आएकाहरूलाई चामल, दान दक्षिणा दिएर बिदा गर्ने चलन थियो । अहिले पुराना भैली गीतहरू सुनिदैनन्, आधुनिक तरिकाले बनाइएका देउसीभैलीका गीतहरु साउण्ड सिस्टममा बजाएर नाच्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसले गर्दा पुरानो संस्कृति हराउँदै गएको छ”, उनि भनछन् ।

तिहारका बेला घरघरमा पुगेर समूहमा गाइने भैली गीत सुदूरपश्चिमको संस्कृति र सामुदायिक एकताको प्रतीक मानिन्थ्यो । तर अहिले युवापुस्ताले डिजे, आधुनिक गीत र नाचगानलाई प्राथमिकता दिन थालेपछि पुरानो परम्परा लोपोन्मुख बन्न थालेकोप्रति उनि चिन्ता प्रकट गछन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङसँगै ती जिल्लाबाट तराईका कैलाली, कञ्चनपुर बसाइँसराइ गरी झरेका समुदायका युवायुवतीले साँझदेखि राति अबेरसम्म भैली गाउँदै रमाइलो गर्ने चलन थियो ।

“भैली गाएर पाएको अन्न, पैसा र आशीर्वादले पर्वको स्वाद फरक हुन्थ्यो”, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका ७२ वर्षीय बासुदेवी पाण्डेय भन्छिन् , “अब त गाउँघरमा पुराना भैलीका स्वर सुनिँदैन, सब ठाउँमा साउण्ड सिस्टममा देउसीभैलीका आधुनिक गीतहरू मात्रै बज्छन् ।”

शुक्लाफाँटा नगरपालिका–२ का शिक्षक राजबहादुर साउद भनछन् , “पुराना भैलीलगायत सुदूरपश्चिमको संस्कृति जोगाउनका लागि सबैले अगाडि सर्नुपर्ने बेला आएको छ, पुराना मौलिक गीत र संस्कृतिबारे स्थानीय पाठयक्रमै लेख्ने व्यवस्था गरेर बालबालिकालाई सानै उमेरदेखि संस्कृति बुझ्ने अवसर प्रदान गर्नुपर्छ ।”

नासिँदै गएको संस्कृति जोगाउनका लागि समाजका अगुवाहरूले अगाडि सर्नुपर्ने उनि बताउछन् । “डिजे संस्कृतिले गाउँघरका गीत, असल परम्परा, मौलिक संस्कृतिलार्ई विस्थापन गरेको छ”, शिक्षक साउदले भने, “युवाहरूलाई भैली सिकाउने अवसर र वातावरणको सृजना गर्नु अत्यन्त आवश्यक छ, संरक्षणको प्रयास भएन भने केही वर्षमै भैली गीत बूढापाकाहरूको सम्झनामा मात्र सीमित हुनेछ ।”