विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइयो

इजरायल । हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ ।

गाजा युद्धविराम र बन्धक आदानप्रदान सम्झौता अन्तर्गत उनको शव फिर्ता भएको केही दिनपछि तेल अविव नजिकैको बेन गुरियन विमानस्थलमा आयोजित एक समारोहबीच उनको शवलाई नेपाल पठाउन लागिएको हो ।

विमानस्थलमा आयोजित बिदाइ समारोहमा जोशीका आफन्त र इजरायली सुरक्षा बलका सदस्यहरूले उनको कफिनलाई घेरेर भावपूर्ण बिदाइ गरेका थिए ।

समारोहमा इजरायलको विदेश मन्त्रालय अन्तर्गतको माशाभ (अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी) की प्रमुख तथा उपमहानिर्देशक एनाट श्लेनको उपस्थिति रहेको थियो ।

२३ वर्षीय जोशी कृषि तालिम कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा उनलाई अलुमिम किबुजबाट बन्धक बनाइएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) का अनुसार बन्धक बनाइएको केही महिनाभित्रै उनको मृत्यु भएको अनुमान गरिएको छ ।

गाजा युद्धविराम सम्झौता अनुसार हमासले अक्टोबर १३ मा रेडक्रस मार्फत जोशीसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो । त्यसपछि तेल अविवस्थित राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रमा उनको शवको पहिचान गरिएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले जोशीको मृत्युको वास्तविक कारण र परिस्थिति पत्ता लगाउन, न्याय सुनिश्चित गर्न तथा उनको परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, र बिमा जस्ता सुविधाहरू दिलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहने जनाएको छ ।

विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलमा कृषि अध्ययन गर्न गएका थिए । आक्रमणका बेला उनीसँगै रहेका अन्य १६ जना नेपाली विद्यार्थीहरू पनि प्रभावित भएका थिए । जसमध्ये १० जनाको मृत्यु भएको थियो ।