भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का किसान टेकबहादुर खड्का पछिल्ला तीन वर्षदेखि व्यवसायिक रूपमा भटमास खेती गर्दै आएका छन्। मलखाद र सिँचाइको समस्या झेल्दै पाँच कठ्ठाबाट सुरु गरेको खेती अहिले उनले डेढ विघासम्म विस्तार गरेका छन्।

“भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ,” उनले भने, “अन्य बाली सस्तोमा बिक्री हुन्छ तर भटमासले राम्रो मूल्य दिन्छ।”

कम लगानीमा बढी आम्दानी हुने भएकाले पछिल्लो समय स्थानीय किसानहरू भटमास खेतीतर्फ आकर्षित भएका छन्। “धान र गहुँमा लगानी धेरै, मुनाफा कम,” खड्काले भने, “अब अधिकांश किसानले परिवारलाई खान पुग्ने मात्र धान–गहुँ राख्छन्, बाँकी जग्गामा भटमास लगाउँछन्।”

दोधारा चाँदनी–९ का किसान जगत बुढाले पनि भटमास खेती लाभदायी भएको बताए। “धान र गहुँमा फाइदा बिचौलियाले लिन्छन्, भटमासमा भने किसानले नै उचित मूल्य पाउँछ,” उनले भने। गत वर्ष उनले ८५ रुपैयाँ प्रतिकिलोका दरले भटमास बिक्री गरेका थिए। “एक विघामा खेती गर्दा वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ,” उनले थपे।

बुढाका अनुसार भटमास किसानका घरमै व्यापारी आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन। कम लागत र उच्च मुनाफाका कारण यो खेती लोकप्रिय बन्दै गएको हो।

दोधारा चाँदनीमा करिब ३६०० हेक्टर खेतीयोग्य जमिनमध्ये अहिले एक सय हेक्टरमा भटमास खेती भइरहेको कृषि अधिकृत कमलापति भट्टले जानकारी दिए। “यहाँको दोमट माटो भटमासका लागि अत्यन्त उपयुक्त छ,” उनले भने, “पछिल्लो वर्ष प्रदेश सरकारले अनुदानसहित कार्यक्रम ल्याएपछि खेती क्षेत्र थप विस्तार भएको छ।”

नगरपालिकाले भटमास खेती बढ्दै गएपछि आगामी वर्ष किसान लक्षित कार्यक्रम ल्याउने तयारी गरेको छ।