मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार

गोरखा । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।

“मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ”, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, “पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए ।”

मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरुघाटतर्फ फर्कंदै गरेका सहायक प्रजिअ बरालले जानकारी दिए । एकदुई दिनभित्रमा उद्धारकार्य सम्पन्न हुने उनको भनाइ छ । आज मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका–१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए । उनीहरु गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए ।

“आज कतिपय पैदलमार्फत आरुघाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । तीन सय ८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरु लार्केपास गरेर मनाङ झर्छन्”, पर्यटन व्यवसायी लामाले भन‍े । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ ।

यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) छ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौँ पर्यटक रहेका छन् ।