बागमती । नेपाली कांग्रेस केन्दीय समितिको बैठक लम्बिँदा बागमती प्रदेश सभाको बैठक अनिश्चित बनेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको र सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहभागी हुनुपर्ने भएकाले प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेश सभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भए पनि मुख्यमन्त्री बानियाँले पार्टीको केन्द्रीय समितिको बैठकपश्चात् मात्र प्रदेश सभाको बैठक बोलाउने बताएकाले बैठकको मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
प्रदेश सभाको बैठकका लागि बागमती प्रदेशका उपसभामुख अपसारा चापागाईंले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग परामर्श गरिरहेको र उनीसँगको परामर्शपश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलले बताए । सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताए ।
बागमती प्रदेश सभाको सभाहल जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी गरेको छ । तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिए ।





































